चण्डीका नेपाली
सिन्धुपाल्चोकको पहाडमा हरियाली र माटोको गन्ध बीच बसेको गुफाडाँडा द्वारेटोल अहिले नयाँ आरोहित उत्साहसँग जोडिएको छ । मेलम्ची नगरपालिका–९ मा बनेको सामुदायिक भवनले यहाँका मानिसको दैनिकी र सपनालाई नजिकबाट छोएको छ ।
नगरपालिकाले ७९ लाख रुपैयाँको लागतमा यो भवन निर्माण गरेको हो । मेलम्ची नगर प्रमुख आइतमान तामाङले उदघाटन गर्दै यसलाई छिटो समुदायको काममा ल्याउनुपर्ने जोड दिनुभयो । केही काम अझै बाँकी रहेकाले सम्पन्न भएपछि मात्र भुक्तानी गरिने उहाँको स्पष्ट भनाइ थियो ।
भवनले हरेक उमेरका मानिसलाई एकै ठाउँमा भेला हुन र काम गर्न सहयोग पु¥याउने विश्वास उपप्रमुख उमा प्रधानले व्यक्त गनुर््भयो । “अब हामी सजिलै बैठक, तालिम, सांस्कृतिक कार्यक्रम र गतिविधि गर्न पाउँछौँ,” उहाँले भन्नुभयो । उहाँले भवनको संरक्षणको जिम्मेवारी समुदायकै हातमा हुनुपर्ने सुझाव पनि दिनुभयो र अक्षय कोष बनाउने विचार अघि सार्नुभएको छ ।
गुफाडाँडा पर्यटकीय स्थल भएकोले यहाँ आउने पर्यटकसँगै स्थानीय कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सुवर्ण अवसर खुल्ने उपप्रमुख प्रधानको भनाइ थियो ।
निशान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरणदिप खड्का, स्थानीय समाजसेवी, वडा सदस्य र युवाहरूको उपस्थिति थियो । सबैले भवनले समुदायलाई अझ नजिक ल्याउनेछ भन्ने अपेक्षा व्यक्त गरे ।
यो सामुदायिक भवन अहिले गुफाडाँडाको साझा पहलकदमीको प्रतीक बनेको छ — जहाँ हाँसो, भावना र काम एकै ठाँउमा मिलेर अगाडि बढ्नेछ ।यो सामुदायिक भवनले अब समुदायलाई एउटै घर जस्तै बनाउने आशा जगाएको छ, जहाँ नेपाली पहाडी जीवनशैली, मेलम्चीको पहाडी संस्कृति र स्थानीय भावना समाहित छन् ।
