आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि बढाउने निर्णय गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटा र क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका माधव सापकोटा यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । उहाँले संसदमा रहँदा जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको थियो । स्थानीय तहका समस्या, विकासका आवश्यकता तथा जनजीविकासँग जोडिएका सवालहरूलाई राष्ट्रिय बहसमा ल्याउने भूमिकामा उहाँ सक्रिय रहँदै आउनुभएको छ ।
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बसेको जिल्ला समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले युवराज दुलाललाई प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको छ । हाल बागमती प्रदेशसभा सदस्य रहनुभएको दुलालले सामाजिक विकास तथा भौतिक पूर्वाधार विकास मन्त्रालयमा जिम्मेवारी सम्हाल्दा शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको थियो ।
