पत्रकारिता, पर्यटन, कफी तथा व्यापार क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका पाँच जना विशिष्ट व्यक्तित्वलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।
बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित कर्भडहलमा आइतबार सम्पन्न संघको ३०औँ वार्षिक साधारणसभाको अवसरमा उहाँहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मानित हुने व्यक्तित्वहरूमा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजकुमार बस्नेत, सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कफी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापा तथा व्यवसायी सुजित बस्नेत रहनु भएको छ ।
उहाँहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिहरूले सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ तथा उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व तथा वर्तमान पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले समाज र उद्योगको विकासमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको जानकारी दिनुभयो ।

