जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा मंगलबार संयुक्त अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ तथा प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली २०८१ बमोजिम मापदण्ड नमान्ने संस्थामाथि कानूनी कारबाही गरिनेछ ।
अनुगमन टोलीले मेलम्ची बजारमा रहेका इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिकलाई अनुमति र मापदण्ड पूरा नगरेको भन्दै तत्काल बन्द गरेको जनाएको छ ।
त्यस्तै विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा दिँदै आएको र हाल विनायक फार्मेसी नाममा सञ्चालन भइरहेको संस्थाले अवैध रूपमा ल्याब र डेन्टल सेवा सञ्चालन गरिरहेको पाइएकाले ती सेवा पनि पूर्ण रूपमा बन्द गरिएको हो । यसैगरी ८८मेलम्ची पोलिक्लिनिक प्रा.लि.८८लाई संस्था नवीकरणका लागि आवश्यक मापदण्ड पूरा गर्न ३० दिनको म्याद दिइएको छ ।
त्यस्तै शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गर्नुका साथै केही शंकास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ ।
अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानूनी अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । संयुक्त टोलीले जिल्लाभर अनुगमनलाई थप तीव्रता दिने जनाएको छ ।