सम्पर्क

करिना पुरी फिफाको एन्टी–डोपिङ कार्यक्रमका लागि छनोट

नेपालको युवा खेलाडी करिना पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । संकटा क्लबकी फुटबलर र कानून विद्यार्थी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा विश्वभरका २८ जनामध्ये एक भएर छनोट हुनुभएको हो । यो कार्यक्रममा सहभागी हुने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ । फिफाको यो कार्यक्रम खेलमा हुने डोपिङ नियन्त्रणका विषयमा विश्वकै प्रमुख पहल मानिन्छ । सहभागीहरूले एन्टी–डोपिङ कोड, परीक्षण, प्रतिबन्ध, खेलाडी अधिकार र
अन्तर्राष्ट्रिय नियमनबारे प्रशिक्षण पाउँछन् । एन्फाका एक अधिकारीका अनुसार, “करिनाको छनोट देशकै खेल इतिहासका लागि गर्वको विषय हो ।” २३ वर्षीया करिना बहुमुखी खेलाडी हुन्—उनले क्रिकेट प्रशिक्षण लिएकी र एशियन गोजुर्यु कराते प्रतियोगितामा दुई स्वर्ण जितिसक्नुभएको छ । हाल कानून अध्ययनरत उनी खेल र कानूनी ज्ञान दुवै क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपालमा हालसम्म प्रमाणित एन्टी–डोपिङ विशेषज्ञ नहुँदा डोपिङ नियन्त्रण चुनौतीपूर्ण बनेको छ । यद्यपि, करिनाको सहभागिताले यस क्षेत्रमा नयाँ आशा जगाएको विज्ञहरूको भनाइ छ । फिफा प्रशिक्षणपछि उनी खेलाडी सचेतना र नीति सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।