सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ७ का हरिबहादुर खत्रीलाई बाह्रविसे नगरपालिकाले घर बनाइदिने भएको छ । खत्रीलाई आज विभिन्न खाद्यान्न सामग्रीका साथै लत्ता कपडाको व्यवस्था गर्दै नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले उनको बस्नको लागि बासस्थान नभएको बताउँदै दशैं लगत्तै खत्रीलाई बासको समेत व्यवस्था गरिदिने बताउनु भयो । उक्त सामग्रीहरू सहित गाडीको व्यवस्था गरी आजै खत्रीलाई डाँडागाउँ पठाइएको नगरपालिकाले जनाएको छ ।
साथै खत्रीका तीन सन्तानमध्ये एकजनालाई नगरपालिकाले रोजगारीको समेत व्यवस्था गर्ने प्रमुख बस्नेतले प्रतिबद्धता समेत जनाउनु भएमो छ । नगरपालिकाको वडा नम्बर ७ स्थित डाँडागाउँमा खत्रीको नाममा सात आना मात्रै जग्गा रहेको पनि नगरपालिका प्रमुख बस्नेतले जानकारी दिनुभयो । खत्रिअहिले आफन्तको घरमा बस्नुभएको छ ।
विगत १४ वर्षदेखि परिवार सँग सम्पर्कविहीन विचारी भनिने हरिबहादुर खत्रीलाई पत्रकार अर्जुन भुसालले केही समय अगाडि सम्पर्कमा ल्याई उहाँको परिवारसँग मिलन गराउन सफल हुनुभएको थियो । खत्री यस बीचमा तनहुमा रहेको पत्ता लगाई पत्रकार भुसालले उनका छोरी बिना र छोरा विशालसँग मिलन गराउनुभएको थियो । साथै केही दिन अगाडि मात्रै खत्री परिवारका तीनै जनाको एकै पटक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता समेत बनेको छ ।
