भोटेकोशी गाउँपालिका–४, हिन्दी नजिक मंगलबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तातोपानीबाट बाह्रबिसेतर्फ गइरहेको बा २१ च ७५४४ नम्बरको बोलेरो करिब ३ः३० बजे अरनिको राजमार्गबाट अनियन्त्रित भएर करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको हो ।
सर्लाहीको बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको उक्त गाडीमा रौतहटको बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल दुवैजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा अर्को टोली पनि उद्धार तथा खोजीकार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
