सम्पर्क

जनैपूर्णिमामा सिन्धुपाल्चोकका आधा दर्जन धार्मिक तथा पर्यटकीय स्थलमा मेला

जनैपूर्णिमाको अवसरमा जिल्लाका आधा दर्जनभन्दा बढी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा यस वर्ष पनि भव्य मेला लागेको छ । धार्मिक आस्था र सांस्कृतिक विविधताको संगम बनेका यी स्थानहरूमा स्थानीयवासी मात्र नभई देश–विदेशका भक्तजन र पर्यटकहरूको समेत भीड देखिएको छ ।
जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित ४,१०० मिटरको उचाइमा रहेको पाँचपोखरीमा भाद्र एकादशीदेखि पूर्णिमासम्म चल्ने ऐतिहासिक मेला अहिले चरममा पुगेको छ । पाँचवटा पवित्र पोखरी र शिवमन्दिरको दर्शन गर्न हजारौँ तीर्थयात्री यहाँ आएका छन् । झाँक्री नाच, तामाङ संस्कृतिका प्रदर्शन र धार्मिक अनुष्ठान यस मेलाको विशेष आकर्षण बनेका छन् ।
जिल्लाको पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा रहेको पाँचपोखरी रैथाने पोखरी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने नौलिडेश्वर महादेव, चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुमा रहेको रानीपोखरी भोटेकोशी गाउँपालिकामा रहेको भैरवकुण्ड लगायतका क्षेत्रमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थीहरुले उत्साहपुर्वक मेला भरेका छन् ।

जनैपूर्णिमाको अबसरमा पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आइपुगेका छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान् शिव जस्तै श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।   धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ ।

यो सँगै चौतारा साँगाचोकगढी नगरपालिका–८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लागेको छ । मेलम्ची नगरपालिका–९, पाँचपोखरी थाङपाल थाउँपालिका–८ र ईन्द्रावती गाउँपालिका–१ को सँगमस्थलमा रहेको नौलिङेश्वर महादेवमा पनी भब्य मेला लागेको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाक्रीसहति दर्शाल भक्तजनहरुले भरेको थियो ।