जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरीमा लाग्ने ऐतिहासिक मेलामा यस वर्ष देशभरबाट हजारौँ तीर्थयात्री र पर्यटकको चाप बढ्दै गएको छ । समुद्री सतहदेखि करिब ४२ सय मिटर उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय गन्तव्यमा एक साता अघिदेखि नै आगन्तुकहरूको आवतजावत सुरु भइसकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का वडाध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो ।
हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने पाँचपोखरीमा भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँच पवित्र पोखरी रहेका छन् । स्कन्ध पुराणको हिमवत् खण्डमा वर्णन भएको यो तीर्थस्थललाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) बराबरको महत्व दिइएको पाइन्छ । साउन शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म यहाँ विशेष मेला लाग्ने परम्परा रहिआएको छ ।
काठमाडौँबाट मेलम्ची हुँदै थाङपालधाप–भोताङसम्मको सडक यात्रा र त्यसपछि करिब १२ घण्टाको पैदल यात्रापछि पाँचपोखरी पुग्न सकिन्छ । कठिन यात्राका बीच हरियाली, खोला, झरना, गोठ, चौंरीपालन र पहाडी ग्रामीण जीवनशैलीको अनुभवले यात्रुको थकान मेटाउने गर्छ । साथै, यहाँ इन्द्रावती नदीको उद्गमस्थल समेत रहेको छ । गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार, मेला अवधिमा आगन्तुकको सहजताका लागि बाटो, आवास, स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारमा विशेष व्यवस्था गरिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताको संगमस्थल पाँचपोखरी एक पटक पुगेपछि हरेक वर्ष फर्केर जान मन लाग्ने प्रमुख तीर्थ–पर्यटन स्थलका रूपमा स्थापित हुँदै गएको छ ।
पाँचपोखरी पुगेका धेरै यात्रुहरूको अनुभव एउटै छ । यहाँको शान्त वातावरण, स्वच्छ हावा, प्राकृतिक दृश्य र धार्मिक आस्थाको सम्मिश्रण एक पटक देखेपछि हरेक वर्ष फर्केर आउन मन लाग्छ । मेला अवधिभर यहाँ हजारौँको संख्यामा भक्तजन उपस्थित हुने र यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने स्थानीय व्यापारीहरूले बताएका छन् ।
