“विश्वासनीय फोटो पत्रकारिताको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ ।
जिल्लाभरका फोटो पत्रकारहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त भेलाले नवनिर्वाचित कार्यसमितिको गठन गर्दै स्थानीय फोटो पत्रकारिता क्षेत्रमा अनुशासन, मर्यादा र हकहितको संरक्षणमा सक्रिय रहने प्रतिवद्धता जनाएको छ । भेलाबाट विजय नेपाल अध्यक्ष, मानकाजी तामाङ उपाध्यक्ष, सागर खड्का सचिव, प्रेम लामा कोषाध्यक्ष तथा सुजन श्रेष्ठ सदस्य पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागर प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल समूहका केन्द्रीय सचिव प्रविन कुलुङ राई, बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेललगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो । देशभर क्रियाशील राष्ट्रिय फोटो पत्रकार समूहका ४१ औं शाखाको रूपमा गठन भएको सिन्धुपाल्चोक शाखाले
जिल्ला भित्रको फोटो पत्रकारितालाई अझ जिम्मेवार, मर्यादित र नागरिक अधिकारमैत्री बनाउने दिशामा अघि बढ्ने बताइएको छ । नयाँ नेतृत्वको जिम्मेवारीसाथै, फोटो पत्रकारिताको गरिमा र व्यवसायिक सवलताका पक्षमा निरन्तर क्रियाशील हुने प्रतिबद्धता समितिले जनाएको छ ।
