सम्पर्क

प्रथम सचिव सुवेदीलाई जनजाति महासंघद्वारा सम्मान तथा बिदाइ

दर्शन सुनार / लोकप्रिय दैनिक, कतार
नेपाल आदिवासी जनजाति महासंघ कतारले नेपाली राज दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य रूपमा “सम्मान तथा बिदाइ” कार्यक्रम गरेको छ । कतारको नेपाली दूतावासमा कार्यरत सचिव आफ्नो कार्यकाल सकेर मातृभूमी फर्कन लागेको अवसरमा नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध सम्पूर्ण मातृसंस्थाहरुले संयुक्त रूपमा सुवेदीलाई बिदाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

महासंघका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीकै प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघ र सम्पूर्ण मातृंसंस्थाहरुले दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सुवेदीलाई सम्मान तथा बिदाइ गरिएको थियो । सम्मान पश्चात् आफ्नो मन्तव्य बोल्दै सुवेदीले आदिवासी जनजातिहरूले हाम्रो देशको भेष भूषा,रीतिरिवाज चालचलन र हाम्रो धर्म संस्कृतिलाई जोगाई राखेको बताउनु भयो ।

उहाँले नेपालका आदिवासीहरुको आन्दोलन र अभियानहरू अझै पनि अपुरै र अधुरै छन्, तपाईँहरू अझै कमजोर नै हुनुहुन्छ । आगामी दिनहरूमा जनजातिहरू सांस्कृतिक रूपमा मात्रै हैन राजनैतिक रूपमा पनि एकताबद्ध भएर अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको सुझाव समेत दिनु भयो ।

सभापति श्रेष्ठले कतार बसाइँको छोटो समयमा पनि सुवेदीले नेपाली श्रमिकहरूको लागी अत्यन्तै खटेर काम गरेको प्रशंसा गर्नु भयो । कतारमा रहेका आदिवासी जनजातिहरूका हक अधिकारको निमित्त सदैव लडिरहने व्यक्तिलाई बिदाइ गर्दा अत्यन्तै दुख लागेको बताउँदै महासंघ कतारलाई दिएको साथ र माया जीवन भर अविस्मरणीय रहने बताउनु भयो ।

महासंघका उपमहासचिव रमेश कनौजे मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव हरि महतोले गर्नु भएको थियो । कार्यक्रममा महासंघका सम्पूर्ण कार्यसमिति, सल्लाहकारहरू साथै मातृसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो ।