सम्पर्क

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको बताउनुहुने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीसँग लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको छोटो कुराकानी –
१) समग्रमा चौतारा नगरपालिकाले स्थानिय जनतालाई न्याय दिने सन्दर्भमा कस्ता खालका मुद्धाहरु वढी आउने गरेका छन् र तिनिहरुको कसरी समाधान गर्नुहुन्छ ?
अहिले नेपाल सँघिय सँरचनामा प्रवेश गरिसकेपछाडी तिन तहको सरकारको अभ्यास भईरहेको छ । हामी स्थानिय तहको जनप्रतिनिधी हौ । र अहिले स्थानिय तहले कार्यपालिका , ब्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिराखेको छ । विशेषगरी न्यायपालीका सम्बन्धी काम गर्नचै हाम्रो स्थानिय तहमा न्यायिक समिति भन्ने हुन्छ । त्यो उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समिती छ । लगभग न्यायिक समितिले काम गरेको चार वर्ष वितिसकेको छ । चार वर्षको विचमा हामीले थुप्रै न्यायसम्पादन सम्वन्धी काम गरेका छौँ । न्याय सम्पादन सम्बन्धी कामहरु हाम्रो क्षेत्राधिकार भित्र हामीले फौजदारी मुद्धाहरु हेर्दैनौ किनकी त्यो हाम्रो क्षेत्रधिकार भित्रनै छैन । हामीले देवानी प्रकृतिका विवादहरुलाई मेलमिलापद्धारा टुँगो लगाउने र साधरण प्रकृतिका मुद्धाहरुलाई निर्णय प्रक्रियाद्धारा टुँगो लगाउने गरी हामीले काम गर्ने गरेका छौ । विशेषगरी सम्पत्ती सम्बन्धी, साध सिमाना सम्बन्धी, घरायसी हिँसा , झैझगडा , सम्वन्ध विच्छेद, लेनदेन सम्बन्धी , कुलो सम्बन्धी विवादहरु , बाटो सम्बन्धी सामान्य विवादहरु हामीले हेर्ने गरेका छौ । हामीले नगरका धेरै विवादहरु मेलमिलापको माध्यमद्धारा मिलाएका छौ । यसरी स्थानिय तहमा प्रत्यायोजित न्यायिक सम्वन्धी अधिकारहरुलाई हामीले सही रुपमा सदुपयोग गर्दै न्यायमा सामान्य भन्दा सामान्य मान्छेको पहुँच स्थापित गरेका छौं । र उहाँहरुको अदालत सम्म जाने समय र खर्चलाई बचत गरेका छौ । हाम्रो न्यायीक सम्पादन समितिबाट भएको कामले यहाँका धेरैले राहत पाउनुभएको छ । उहाँहरुले न्याय पाएको अनुभूती हामीले गरेका छौं ।
२) तपाईले समग्र महिलाहरुको अथवा राज्यबाट पछाडी पारिएका वर्ग , जाती, क्षेत्र , लिङ्गको हितका लागी के गरिरहनुभएको छ ?
स्वभाविक रुपमा हो । म यो नगरको उपप्रमुख हुँ र यहाँका समग्र महिलाहरुको प्रतिनिधी पनी हुँ । मैले महिलाहरुको अथवा राज्यबाट पछाडी पारिएका वर्ग, जाती, क्षेत्र , लिङ्गको आवाजको प्रतिनिधित्व गर्ने गरेको छु । उनिहरुको आवाजको लागी मैले आन्दोलनमा हुँदा देखी, सामाजिक आन्दोलनमा हुँदापनी यी वर्गहरुको आवाजलाई उठाईरहेको ब्यक्ती हुँ । सायद मेरो त्यँही कुरालाई र त्यही सक्रियतालाई देखेर नै मलाई आम नगरवासीले विश्वास गर्नुभो, पत्याईदिनुभो र जनप्रतिनिधिको रुपमा निर्वाचित गराउनुभयो । त्यसैले मुख्यतः उहाँहरुकै आवाज र भावनालाई प्रतिनिधित्व गर्नेगरी काम गरिरहेको छु । मुख्यगरी चौतारा साँगाचोकगढी नगरभित्र रहेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपाँगता भएका ब्यक्तिहरुको हक हितलाई प्रतिनिधित्व गर्ने गरी उहाँहरुको अधिकारलाई सम्बोधन गर्ने गरी वार्षीक निती तथा कार्यक्रमहरु बनाउने गरेका छौं । उहाँहरुको जिविकोपार्जन सुधार , आम्दानी स्तर बृद्धी गर्ने कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिरहेका छौं । महिलाहरुको लागी स्वरोजगार बनाउने अभियान सञ्चालन गरेका छौं । महिलाहरुलाई एक घर एक उद्यमीको नारा अन्तर्गत हामीले गलैंचा बुनाई तालिम तथा उहाँहरुको मागबमोजिमका कार्यक्रम तथा सिपमुलक तालिमहरु दिएर हामीले स्वरोजगार बनाएका छौं । धैरै महिलाहरु नगरपालीकाबाट तालिम लिएर उद्यमशिल बन्नुभएको छ । त्यसैगरी अपाँगता भएका ब्यक्तीहरुलाई सिपमुलक तालिमहरु दिएर स्वरोजगार बनाउने कार्यक्रमहरु सञ्चालन गरेका छौं । जेष्ठ नागरिकहरुका लागी हामीले वार्षीक रुपमा सम्मान गर्ने कार्यक्रमहरु राखेका छौ । चौतारामा रहेको बृद्धाश्रमलाई खाद्यान्न देखी दिएर उहाँहरुको वासस्थान को ब्यवस्थापनको लागी वार्षिक रुपमा बजेट छुट्याउने गरेका छौं । त्यसैगरी हिंसामा परेका महिलाहरुको लागी यसको न्युनिकरणका लागी मदीरापान नियन्त्रणका अभियानहरु पनी सञ्चालन गरेका छौ । महिला समुहहरु गठन गरेर सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गरेका छौँ । यसरी महिला , जाति, जनजाती राज्यबाट बहिष्करणमा परेका मान्छेहरुको लागी प्रतिनिधित्व गर्ने र सम्बोधन गर्नेगरी हामीले वार्षीक रुपमा थुप्रै कार्यक्रमहरु गर्ने गरेका छौ ।
३) पछिल्लो समय न्यायिक समितिमा कस्ता– कस्ता घरेलु समस्याका उजुरीहरु आउने गरेका छन् र यसको समाधानका लागी कस्ता पहलहरु भएका छन् ?
हिंसा सम्बन्धी मुद्धाहरु हामीले थुप्रै हेरेका छौ र यहाँ धेरै मुद्धाहरु आएको पनी छ । कतिपय मुद्धाहरु घरमै मिलाउने कोशीस गर्नुहुन्छ उहाँहरु हामीले चै भन्ने गरेका छौं हिंसा सहेर नवस्नुस । हिंसा कसैलाई पनी गर्न पाईदैन र सहन पनी हुँदैन भनेर हामीले सचेतिकरण गर्ने अभियानहरु जस्तै कानुनी सचेतना कार्यक्रमहरु , न्याँयमा पहुँच कार्यक्रमहरु बस्तीस्तरमा गएर सञ्चालन गरेका छौ । हिजो कहीं गएर मेरो आवाजको सुनुवाई हुँदैन , मेरो पिडा कसैले बुझ्दैन , सुन्दैन भन्ने एउटा निराश भएर बस्ने महिलाहरु साँच्चै हामी स्थानिय तहसम्म गयौँ भने र त्यहाँको न्यायीक समितिसम्म गयौँ भने न्याय पाईने रछ भन्ने खालको उहाँहरुको चेतना जागृत भएको छ । धेरै महिलाहरु जो वर्षौ देखीबाट पिडीत , घरेलु हिंसा पिडित भएका महिलाहरुले यहाँ आएर न्याँय पाउनुभएको छ । उहाँहरुको घरायसी बाताबरण पछील्लो समय सुध्रिएका उदाहरणहर पनी हामीसँग प्रशस्तै छन् । यसरी हामीले नगरपालिकाको न्यायिक समिती मातहत रहने गरी मेलमिलाप केन्द्रहरु पनी छन् । वडास्तरमा वडा मेलमिलाप केन्द्रहरुमा मेलमिलाप कर्ताहरु हुनुहुन्छ । उहाँहरु मार्फत पनी हामीले विवाद समाधानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौ र न्यायिक समितीबाट पनी त्यो विवद समाधानका कार्यक्रमहरु सञ्चालन गर्दै आईराखेका छौं । यसरी घरेलु हिंसा पिडित महिलाहरुको विगतको तुलनामा केही कमी भएको छ यद्यपी यो निमिट्यान्न हुने कुरा अथवा अन्त्यनै हुने हुरा चै यो मान्छेलाई अझ धेरै सचेत गर्न बाँकी छ । अझ धेरै मान्छेहरुलाई चाँही परिवर्तन गर्न बाँकी छ । यो अभियान अनन्तकालसम्म चलिरहने कुरा हो । मान्छेलाई सचेत गराउने , मानवअधिकार केहो ? महिलाअखधिकार के हो ? भन्ने विषयमा चाँही सचेत गराउने काम हामी सबै सामाजिक सरोकारवाला अथवा जनप्रतिनिधी, समाजसेवी सबैको जिम्मेवारी र दायित्व हो । जवसम्म समाजमा शान्ती कायम गर्न सकिदैन , एउटा सभ्य समाजको निर्माण गर्न सकिदैन तबसम्म यो हिंसाको घटनाहरुलाई पुरै अन्त्य गर्न सकिदैन । यो अभियानचाँही हाम्रो नियमित र निरन्तर चलिरहने अभियान हो र हुनुपर्छ ।
४) समग्रमा नगरपालिकाको विकास निर्माणको अबस्था चाँही कस्तो रहेको छ ? यो नगरपालिकामा गाउँगाउँमा सिँहदरबारको नाराले कत्तिको सार्थकता पाएको छ ?
अहिले हामीले सँघिय सँरचनामा नेपाल गैसकेपछी र स्थानिय तहको सरकार बनिसकेपछी जनताहरुले नजिकबाट सेवा सुविधा पाएका छन् । जनताले नजिकबाट सरकारको अनुभुति गर्न पाएका छन् । हिजो एउटा सामान्य मान्छेले साँसद भेट्नलाई अथवा सिँहदरबारको गेटभित्र छिर्नको लागी त्यँहा ठुलै पहुँचको कुरा हुनुपथ्र्यो । गेट पास प्राप्त गर्ने कुरा सामान्य नागरिकले सिँहदरबार प्रवेश पाउन सक्तैनथे । अहिले जनताको आँगनमा सरकार भएको कारणले अहिले सामान्य खालका विकास निर्माणका कुराहरु एक डेढ लाख, दुई लाखका विकास निर्माणका कुराहरु माग्नका लाग्ी उहाँहरु नगरपालिकासम्म आउन सक्नु भाकोछ । वडासम्म आउन सक्ने भाकोछ । विकासको यती धेरै लहर आएको छ । यो चार वर्षको अवधिमा मलाई लाग्छ नगरले ठुलै मुहार फेरेको छ । हिजो भन्नुस न नगरपालिकाको सडकहरु बार्है  महिना चल्न सक्ने अबस्था थिएन । हिउँदभरी गाडी गुड्थे भने बर्खाभरी बन्द हुने अबस्था थियो । अहिले नगरपालिकाको केन्द्रदेखी वडा कार्यालयसम्म जोडिने सडकहरु लगभग सबै कालोपत्रै भएका छन् । एकाध बाहेक त्यो पनी अब स्तरोन्नतीका कामहरु भैराखेको छ । एकाध जो कालोपत्रे हुन बाँकी छन् । त्यसैगरी बस्तीस्थरमा गोरेटा बाटाहरु सिँढी बन्ने क्रम सुरु भएको छ । धेरै ठाउँमा सिँढीहरु बनेको छ । त्यस्तै नगरपालीका सुरुमा हाम्रो सेवाप्रवाह गर्ने आफ्नो भवन थिएन , भाँडामा बसनुपर्ने अवस्था थियो । वडा कार्यालयहरु थिएनन् । अहिले नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भैसकेको छ । त्यसैगरी वडा कार्यालयहरुको आ–आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएको छ । त्यसैगरी पर्यटकिय विकासका लागी पूर्वाधारहरुको निर्माण भैराखेको छ । हाम्रो यो बुद्धपार्क जाने सिढी निर्माणको काम भैराखेको छ । त्यहाँ ६७ फिट अग्लो बुद्धको मुर्ती राख्ने कार्यक्रम चलिराखेको छ । लगभग यो वर्ष ८÷९ करोडको एउटा ठुलो योजना सम्पन्न हुँदैछ । नगरपालिकाको ऐतिहासिक र महत्वपूर्ण स्थल साँगाचोकगढी निर्माणको कार्यक्रम अगाढी बढीरहेको छ । त्यसैगरी पूर्वाधार विकासका कामहरु यतिधेरै ह्वात्तै वढीरहेका छन् । त्यसैले कल्पना गरेको भन्दा बाहिरको कुरा छ । २० वर्ष स्थानिय तहमा जनप्रतिनिधी नहुँदाखेरी भएको विकास र ४ वर्षको अवधीमा जनप्रतिनिधी आईसकेपछी भएको विकास हेर्ने हो भने त्यो आकाश र पातालको अन्तर छ । २० वर्षमा नभएको विकास हामीले चार वर्षको विचमा गरेर देखाएका छौं । अर्कोकुरा शिक्षा क्षेत्रको सुधारका कार्यहरु , सामुदायिक विद्यालयका गुणस्तर सुधारका कार्यक्रमहरु भैराखेका छन् । त्यसैगरी आधारभूत स्वास्थ्यमा पहुँच स्थापित गर्नेगरी प्रत्येक वडाहरुमा स्वास्थ्य भवनहरु रहेका छन् । साधरण औषधीहरुको ब्यवस्थापन भएको छ । त्यसैगरी सबै स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य कर्मीहरुको ब्यवस्थापन गरिएको छ । खानेपानी, सिँचाई, कृषी, पशुका कार्यक्रमहरु लगायतका थुप्रै कार्यक्रहरु अगाडी बढेको छ । त्यसैगरी युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमहरु नगरपालीकाकै तर्फबाट दुई प्रतिशत ब्याजमा निाधितो ऋण प्रवाह गरेका छौं । ५ लाखसम्म यो स्वरोजगार बन्ने युवाहरलाई , कृषी, पशुपालन गर्न चाहने युवाहरुलाई त्यसैगरी महिला उद्यमशिलता र सपिमा आधारित दलित समुदायको ब्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रहरु पनि अगाढी बढीरहेको छ । हामीले गत वर्ष र यो वर्ष गरेर ८० जना युवाहरुलाई ५ लाखका दरले ऋण प्रवाह गरेर उहाँहर ब्यवसायिक उत्पादनतिर लाग्नुभएको छ । यी लगायत थुप्रै रचनात्मक र सृजनात्मक कार्यक्रमहर हामीले अगाढी बढाएका छौं । यो चाँही स्थानिय तहमा जनप्रतिनिधी आईसकेपछी यहाँको आफ्नो विकास आफ्नो मौलिकतामा रहेर , एहाँको सापेक्षतामा आधारित रहेर ऐन कानुनहरु निर्माण गरेर नयाँ ढँगले विकासका कार्यक्रमहरु अगाढी बढाएका छौं ।
५) अन्तमा यहाँको भन्नै पर्ने केही कुरा थियो की ?
यहाँसम्म आउनुभयो, कुराकानी गर्ने मौका पाईयो , यहाँहरुलाई धन्यवाद । धेरै मान्छेहरुका विचमा हाम्रो कुरा जाओस । यही भन्न चाहन्छु ।