दर्शन सुनार/लोकप्रिय दैनिक कतार गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउँपालिका वडा नं. ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाइस हजार तीन सय अक्षरूपी) सहयोग गरेको हो ।
गुल्मी सेवा समाज कतारको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न व्यक्तिहरू मार्फत आर्थिक सङ्कलन गर्ने निर्णय गर्दै कतारी रियल पाँच सय तीन सहयोग रकम पीडितको श्रीमान् ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम लिँदै ईश्वरी अर्यालले दुखको सारथि गुल्मी सेवा समाज कतार र आर्थिक रकम सहयोग गर्नुहुने गुल्मी सेवा समाज कतारका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक आभार प्रकट गर्नुभयो ।
पीडित कमला परियारलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाजका अध्यक्ष मित्र बि एसले आफूले भर्खरै समाजको नेतृत्व सम्हालेको र समाजको पहिलो बैठकमै जिल्लाबाट आएको अपिललाई प्राथमिकतामा राखेर थप उपचारका लागी आर्थिक रकम सहयोग गरेको जानकारी दिनुभयो । साथै बि एसले गृह जिल्ला गुल्मीमा भई परि आउने समस्या तथा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरूका दुखमा समाजले सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
लोकप्रिय कर्मीसँगको संवादमा पीडितका श्रीमान् ईश्वरी अर्यालले लामो समय देखी आफ्नो श्रीमती बिरामी परेको र उपचारमा थुप्रै रकम खर्च भइसकेको लाखौँ ऋणमा आफू डुबेको र घरको आर्थिक अवस्था समेत कमजोर बन्दै गएपछि आफू रोजगारीको सिलसिलामा भर्खरै कतार आई पुगेको बताउनुभयो ।
अर्यालले मेरो घरमा सानो दुई जना छोराहरु छन् । म साहुको ऋण तिर्न र श्रीमतीको उपचार खर्च जुटाउन कतारमा आएको हु । बिरामी श्रीमती भरतपुर चितवन क्यान्सर हस्पिटलमा रोगसँग लडिरहेकी छिन । उनी भावुक समेत बने । अर्यालले कतारमा स्थापित विभिन्न सङ्घसंस्था कतारमा रहेका सहयोगी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगको अपिल गर्दै आफ्नो श्रीमती बचाई दिन अनुरोध समेत गरेका छन् ।
पीडितलाई सहयोग गर्न चाहनेले बिरामीको साइन रेसुङ्गा विकास बैक ( बुटवल ब्रान्च)
खाता नं. ००१००७००४०४०२६०००००१ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी कमला परियारलाई ९७७–९८६७५६०११९ मा सम्पर्क गर्न सकिनेछ । पीडितका घरमा दुई छोरा छन् । बिरामीका श्रीमान् हाल कतारमा अल कायद ईन्टरनेशनल टेन्ट्स कम्पनीमा कार्यरत छन् ।
ईश्वरी अर्यालको सम्पर्क नम्बर ९७४–७०८४४२८९ रहेको छ ।
