चण्डीका नेपाली
सिन्धुपाल्चोकबाट सञ्चालित पूर्व अरनिको प्रा.लिमा आवद्ध सवारीसाधनको सेवा जेठ १९ गतेबाट अनिश्चितकालीनका लागि बन्द हुने भएको छ । कम्पनीका सहायक कार्यालय प्रमुख चमन गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण सवारी साधनको क्यू स्थगित गरिएको हो ।
अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।
अहिले नेपालभरका सार्वजनिक यातायात व्यवसायी संघ संगठनले यातायात सम्बन्धी समस्या समाधानका लागि दबाबमूलक आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई समर्थन जनाउँदै पूर्व अरनिको यातायात प्रालिले पनि सवारी साधनको क्यू स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ ।
तायात व्यवसायीहरूले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरेर सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेको संघ समिति नवीकरण सम्पत्ति फुकुवाको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेकाले यातायात व्यवसायीसँग विगतमा भएको सम्झौता सहमति र नेपाल सरकारबाट गठित कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ ।
यसैगरी, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने, मालवाहक सवारीको भार बहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भार बहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने, बीमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहत कोष स्थापना गरी यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने र छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालमा भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति तत्काल संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
