सम्पर्क

प्युठान सेवा समाज कतारले भब्य रुपमा मनायो १६औं स्थापना दिवस

दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक

प्युठान सेवा समाज कतारले आफ्नो स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
“प्युठान सेवा समाजको एकता,मिलीजुली र सहकार्यको आवश्यकता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै समाजले गृह जिल्ला भित्रका “गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ गर्ने उद्धेश्यका साथ “१६ औ स्थापना दिवस“ तथा बिविध सांस्कृतिक कार्यक्रम शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भब्यताका साथ मनाएको हो ।

स्थापना दिवसको अवसरमा केक काटेर ब्यानर अनावरण गर्दै दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्धघांटन गरिएको कार्यक्रममा कलाकार ईश्वरी केसी भण्डारीले स्वागत नृत्य पेश गर्नु भएको थियो । समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समुन्द्र खडकाले स्वागत मन्तव्य राख्दै जिल्ला भित्रका धार्मिक तथा ऐतिहासिक पबित्र भुमी गौमुखी,स्वर्गद्धारी ऐरावतीको बारेमा प्रष्ट पार्नु भएको थियो ।

समाजका अध्यक्ष सिताराम सुनारको सभापतित्व तथा गैरआवासिय नेपाली संघ एनआरएनए एनसिसी कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कलाकार साकुर जस्मिन,पुकार थापा,सुधा परियार,सल श्रेष्ठ,रेश्मी सेन्चुरी,सुमित्रा भट्टराई, सुरेश बिसी, गुना मगरले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए । समाजले आयोजना गरेका हरेक कार्यबिधीलाई विभिन्न कोणबाट साथ सहयोग पु¥याउदै आएका समाजका बिशिष्ट ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा विशिष्ट ब्यक्तित्वहरुको शुभकामना मन्तव्य समेत रहेको थियो । शुभकामना वक्ताहरुले जिल्लाका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम अत्यन्तै सकारात्मक र समाजले सामाजिक कार्यको राम्रो शुरुवात गरेको बताउदै आगामी दिनमा समेत थप राम्रा काम गर्न सल्लाह र सुझाव दिएका थिए । कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरुलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पन्थीले आफ्नो मन्तव्य बोल्दै कतारमा स्थापित विभिन्न नेपाली समुदायमा परिवर्तनको खाँचो रहेको बताउनु भयो । उहाले नेपाली समाजले आयोजना गर्ने शुभकामना आदान–प्रदान कार्यक्रम,बृहत् साँस्कृतिक मात्र न भएर कतार सरकारको नियम कानुन सम्बन्धी,जनचेतना तथा सचेतंनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न सके नेपाली समुदायलाई थप सकारात्मक तथा सन्देशमुलक हुने बताउनु भयो ।

उहाँले आफू बिगत लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकहरुको संयोजक भएर काम गर्दै आईरहेको बताउदै र आगामी दिनमा समेत श्रमिकहरुको हक र हितमा काम गर्ने समेत प्रतिबद्धता जाहेर गर्दै समाजमा नेतृत्व लिएका हरेक ब्यक्तिहरु,कतारमा स्थापित विभिन्न संघ संस्थाहरुले पनि नेपाली श्रमिकका हरेक समस्याहरु र समाजमा भई परिआएका समस्याहरुलाई दिगो रुपमा हेरेर समस्याहरुको समाधान गर्न सकेमा श्रमिकका पाएका दुख कम हुने र श्रमिकले न्याय मिल्ने समेत बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै सभापति सुनारले कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सबैलाई एकमुष्ठ्मा धन्यवाद व्यक्त गर्दै धार्मिक तथा पौराणिक जिल्ला प्युठानमा एक पटक भ्रमण गरेर अवलोकन गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रमको सहजीकरण आर बी रसाईलीले गर्नुभएको थियो ।