मेलम्ची नगरपालिकाका शिक्षकहरूलाई स्थानीय पाठ्यक्रममा वातावरणीय शिक्षा समावेश गर्ने उद्देश्यले पाँच दिने आधारभूत तालिम सुरु भएको छ । तालिमको उद्घाटन उपप्रमुख उमा प्रधानले गर्दै रिड नेपालले स्थानीय पाठ्यक्रम निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले तालिमले वातावरण विषय समावेश गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले सार्वजनिक विद्यालयको संरक्षणमा सबैले योगदान दिनुपर्नेमा जोड दिँदै शिक्षकहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन इमानदार हुनुपर्ने बताउनुभयो । उहाँले तालिमपछि सिकेका कुराहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । तालिममा मेलम्चीका ४, ६, १०, ११, १२ र १३ नम्बर वडाका १८ विद्यालयका माध्यमिक तहका ३ र आधारभूत तहका २ शिक्षक सहभागी छन् । तालिममा तोयानाथ अमाइ र रामचन्द्र पोखरेलले तालिमको सहजीकरण गर्नुहुनेछ । तालिममा वातावरणीय शिक्षा स्थानीय पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने विषयमा पाँच दिनसम्म प्रशिक्षण दिइनेछ ।
औपचारिक कार्यक्रम इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शुसीला कंडेलले गर्नुभएको थियो ।