सिन्धुपाल्चोकको चौतारा अस्पताल प्राङ्गणमा विश्व रेडक्रस दिवसको अवसरमा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन र खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल र चौतारा अस्पतालको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्दै भविष्यमा सेवा केन्द्रलाई थप गुणस्तरीय बनाउने योजना रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले सेवा केन्द्रलाई आम जनतासम्म पु¥याउन नगरपालिका सधैं साथ रहने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा सभापति राजेन्द्रमान ताल्चाभदेलले सेवा केन्द्रले आपत्कालीन अवस्थामा मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रम उद्घाटनसंगै सञ्चालित रक्तदान कार्यक्रममा ५१ पुरुष र १८ महिला गरी ६९ जनाले रक्तदान गरेका थिए, जसलाई अस्पतालमा रहेको १२० पिन्ट क्षमताको सेवा केन्द्रमा भण्डारण गरिएको छ ।
यस नयाँ सेवा केन्द्रले सिन्धुपाल्चोक जिल्लामा रक्त सञ्चार सेवाको सुदृढीकरण गर्दै नागरिकहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।