नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आउनुभएको थियो ।नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो । उहाँ २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रियसभा सदस्य रहनुभएको थियो । नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुुनुहुन्थ्यो ।
