यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।
आजै साँझ बोर्डका अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको र सोही निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो । चैत २० गतेदेखि आफ्ना विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्दै शैक्षिक हडताल गरेपछि कक्षा १२ को परीक्षा प्रभावित बन्न पुगेको हो ।
