परराष्ट्रमन्त्री आरजु राणाले तातोपानी नाका र सडक व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताउँनु भएको छ ।
उहाँले शुक्रबार भोटेकोसी गाउँपालिका–२ बाट चीन जोड्ने सीमाना तातोपानी पुगेर तातोपानी धारामा निर्मित स्नानगृह भवन उद्घाटन गर्दै ‘यसअघि नाका हेर्ने मौका पाएको थिइनँ, ५४ वर्षअघि यहाँ एकपटक आएको थिएँ, तर सडकको अवस्था देखेँ, यसबारे भौतिकमन्त्रीसँग कुरा गरेर अघि बढ्नेछु,’ भन्नुभयो । स्नान गृह उद्धघाटन गर्नुअघी नाका निरक्षण गर्न पुग्नु भएका मन्त्री राणालाई चीनबाट आएका झाङ्मु क्षेत्रका सुरक्षाकर्मी र अधिकारी प्रतिनिधिले उहाँसहित अन्यलाई स्वागत गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमार्फत तातोपानी उत्रे लगत्तै नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा. राणा देउवाले तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशनसमेत दिनुभएको छ । वार्षिक २० अर्बबढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उहाँले सो निर्देशन दिनुभएको हो ।
उहाँले यसका लागि सरकारले पनि आवश्यक पहल गर्ने बताउँनु भयो । पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सांसद मोहन बहादुर बस्नेतले पर्यटकीय स्थल तातोपानी धाराले सिन्धुपाल्चोक जिल्लाको मात्र होइन देसकै पहिचान बोकेको हुँदा यसको सरक्षण र बिकासका लागी सबै लाग्न पर्ने बताउँनु भयो । उहाँले अब नेपालको प्रधानमन्त्री हुने पालो महिलाको र त्यसमा पनि आरजु राणाकै भएको बताउँनु भयो ।
नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोसी गाउँपालिकाले आफ्नै लगानीमा स्नानगृह तयार पारेको हो । ६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन् । हाल नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ । कात्तिकदेखि चैतसम्म सिजनमा दैनिक एक हजारसम्म पर्यटकले तातोपानी धारामा स्नान गरेर सीमानाकाको भ्रमण गर्ने गर्छन् ।
प्राकृतिक रुपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन् । तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । यहाँ नेपाल मात्र नभएर चीन र भारतका नागरिकहरु पनी स्नान गर्न आउँने गरेका छन् ।