नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित एक समारोहकाबीच अध्यक्ष ध्रव दंगालको नेतृत्वमा शाखाका कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । निर्वाचन अधिकृत अमित घिमिरेले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभयो ।
पदभार ग्रहण समारोहमा अध्यक्ष ध्रुव दंगालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पनि ईमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने र पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दिपक अर्याल, महिला उपाध्यक्ष कमला पाख्रिन तामाङ, सचिव टीका सुवेदी, सहसचिव सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्ष दीपक खत्री तथा सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहणसँगै पदभार सम्हाल्नु भएको छ । पदभार ग्रहण पश्चात निर्वाचित कार्यसमितिको पहिलो बैठकले ३ वर्षे कार्यकाललाई पत्रकारहरूको क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा निर्वाचन अधिकृत समेत रहनुभएका अग्रज पत्रकार तथा साहित्यकार अमित घिमिरेले श्रमजीवी पत्रकारहरुको हकहितको काममा सबै पत्रकारहरू एकजुट भएर राजनितिक दलहरूको छायाँबाट पत्रकारिता क्षेत्रलाई मुक्त राख्न सुझाव समेत दिनुभयो । यस्तै पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले लोकतन्त्रको सुदृढीकरण गर्दै पत्रकारहरुले अनुशासित हुँदै सत्य तथ्य समाचारलाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
