दर्शन सुनार/लोकप्रिय समाचार दैनिक/ दोहा,कतार
करिब ५ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराई रहेकी जलजला गाउँपालिका वडा न ७ मिलनचोक पर्वत निवासी गङ्गा दमाईलाई कतारबाट करिब २ लाख रुपियाँ सहयोग पठाइएको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाका संवाददाता तिलु शर्मा पौडेलको संयोजकत्व तथा पहलमा गङ्गालाई उक्त सहयोग पठाइएको हो ।
गङ्गाको छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सहयोगको याचना गरेपछि सहयोगका लागि मध्यान्हकर्मी पौडेल अगाडी आएका हुन् । पौडेलले सुरुमा आफैले सक्दो सहयोग गरे र आफ्नो फेसबुकमा स्ट्याटस राख्दै सहयोगका लागि अपिल गरे लगत्तै केही रकम सहयोग प्राप्त भएको बताउनु भयो । दसैँ तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका पौडेलले बिरामीको छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिक लगायतका अवस्थाका बारेमा गहिरिएर बुझ्नु भएको थियो । पौडेलसङको भेटमा अनिताले केमियो थेरापीको खर्च र पौष्टिक आहारका लागि मोटो रकम खर्च हुने र परिवारसँग बेच्नका लागि अचल सम्पत्ति नभएको, भएको जग्गा पनि एक सहकारीमा ऋण तिर्न नसक्दा अड्किएको र आफूले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप बेचेर आमाको उपचारमा खर्च गरेको बताएको अनितालाई उद्धृत गर्दै पौडेलले लोकप्रिय दैनिकसँगको कुराकानीमा बताउनु भयो ।
पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिताको दुखको सारथि बन्न पौडेलले एनआरएनए एनसीसी कतारको संघसंस्था समन्वयका लागि बनाइएको च्याट ग्रूप, गण्डकी प्रदेश समन्वय परिषद्को च्याट ग्रूप र प्रवासी नेपाली समुदाय कतारको अफिसियल ग्रूपमा समेत सहयोगको याचना गर्दै सूचना सम्प्रेषण गर्नुभयो । उहाँको सहयोगको याचनालाई प्रवासी नेपाली समुदाय कतारको ग्रुपका सदस्यहरूबाट मात्र करिब १ लाख रुपैयाँ सहयोग मिलेको थियो । उहाँले पर्वत समाज कतार मातहत रहेका पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष र पर्वत जलजला समाज इकाइ समक्ष पनि सहयोगको याचना गर्नुभयो । उहाँलाई उक्त संस्थाबाट दश–दश हजारका दरले २० हजार रुपैयाँ सहयोग प्राप्त भयो भने कतारमा रहेको नेपाली महिला समाज कतारले १५ हजार रुपैयाँ, श्री सद्भाव युवा समाज कतारले १७ हजार ५ सय ४० रुपैयाँ र सङ्घीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले ३ हजार रुपैयाँ सहयोग ग¥यो । ती सबै रकम सिधै बिरामीको छोरी अनिताको खातामा जम्मा भएको र सबैको अभिलेख आफूले सुरक्षित राखेको पौडेलले बताउनु भयो । पौडेलले कतार बाहेक विश्वका अन्य देशबाट पनि सहयोग प्राप्त भएको हुँदा सहयोगीलाई धन्यवाद दिँदै थप् सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ ।
बिरामीलाई पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । अपरेसनका लागि न्यूनतम पाँच लाख खर्च आवश्यक पर्नेमा अनितासँग २ लाख रुपैयाँ मात्र रहेको र आउने आइतबार अप्रेसन गर्ने गरी तयारी गर्नु भनेर डाक्टरहरूले आमाको भर्ना लिएको हुँदा नपुग रकम कहाँबाट ल्याउने ? भन्दै अनिताले चिन्ता व्यक्त गर्दै भक्कानिइन सबै मार्फत सहयोगको अपेक्षा समेत गर्नुभएको छ । हालसम्म आठ लाख रुपियाँ खर्च भई सकेको छ । परियारको उपचारमा सहयोगका लागि अनिता दर्जीको एनएमबी बैङ्कको खाता नम्बर १२१०२००९४१७००१२, वा राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिन्छ ।