सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठको अध्यक्षतामा बसेको नगर सञ्जालको बैठकले मङ्सिर ७ गते शुक्रवार नगरपालिका भरिका सहकारी संस्थाहरूको व्यवस्थापकहरूको भेला बोलाएर व्यवस्थापक सञ्जाल गठन गरिने निर्णय गरेको छ । सहकारी ऐनको पूर्ण कार्यान्वयनको व्यवस्था गर्ने विशेष गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरूका बारेमा जानकारी लिएर त्यसको समाधान गर्नतर्फ ध्यान दिन पनि व्यवस्थापक सञ्जाल गठन गर्नुपर्ने भएकाले उक्त दिन सञ्जाल गठन गर्ने निर्णय भएको सञ्जालका सचिव चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरूमा पनि वडा सहकारी सञ्जाल गठनको प्रक्रिया सुरु गर्ने बताउनु भयो । बैठकमा मङ्सिर ७ गते हुने बैठकमा व्यवस्थापकहरूले आ–आफ्नो सहकारी संस्थाका सम्पूर्ण विवरण पनि उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको समेत सचिव खत्रीले बताउनु भयो । बैठकपछि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटासँग सहकारी सञ्जालका पदाधिकारीहरूले भेट गरी नगरमा भएका सहकारी संस्थाहरूको समस्याका बारेमा जानकारी गराएको थियो । नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठले नगर सञ्जाल समितिको बैठकले गरेको निर्णयको जानकारी गराउने क्रममा उहाँले नगरमा सहकारी संस्थाको अनुगमनका लागि कर्मचारीको कमी भएको हुँदा कर्मचारी राखेर भए पनि सहकारीको व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यक रहेकोले त्यस तर्फ समेत ध्यानाकर्षण गराउँदै सहकारी सञ्चालनमा भएका समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसर मा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरपालिकामा रहेका सहकारी संस्थाहरूले गरेका कामको निरीक्षण गरी सहकारी व्यवस्थापनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने बताउनु भएको छ । उँहाले नगरपालिकामा भएका विषयगत सहकारी संस्थाहरूको निगरानी गर्ने सहकारी संस्थाहरूको व्यवस्थापनमा सहजीकरण गर्ने सहकारी संस्थाहरिलाई सहकारी ऐन अनुसार काम भएका छन् की छैनन् भएका छैनन् भने ऐन अनुसार काम गर्ने वातावरण मिलाउनका लागी आफूले गर्न सक्ने सहयोग गर्ने बताउनु भयो ।
