सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ ।
कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ ।
तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल व्यवस्था गरिएको छ । त्यस्तै पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।
