आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो ।
बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक÷प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिनुभयो । उहाँकानुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने÷गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ ।
यात्रुहरूलाई सहजीकरण गर्न उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भु, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी÷नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्नेसमेत बैठकले निर्णय गरेको विभागले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले चाडपर्वमा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना बढ्ने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ चेकजाँच गरिने प्रतिबद्धता जनाउनुभयो ।
