सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले चिकित्सक, स्वास्थ्यकर्मी तथा विभिन्न संस्थाहरूलाई आज सम्मान गरेको छ ।समाजबाट प्रा डा सगुननारायण जोशी, प्राडा केपी सिंह, प्राडा जीवनकुमार श्रेष्ठ, प्राडा दीपकप्रकाश महरा, प्राडा आनन्दकुमार शर्मा, प्राडा शङ्करमान राई, प्राडा पद्मराज पन्त, प्राडा रत्नमणि गजुरेललगायत चालीसभन्दा बढी चिकित्सक, परिचारिका एवं विभिन्न संस्थाहरू सम्मानित भएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र समाजका अध्यक्ष भूपेन्द्र थापाले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा नेता डा कोइरालाले नेपालमा स्वास्थ्य र शिक्षा निकै महँगो भएकाले यसलाई कसरी पहुँचयोग्य बनाउने भन्ने विषयमा सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य प्रणालीलाई कसरी अलि कम खर्चिलो र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ ।”
समाजका अध्यक्ष थापाले दाताको सहयोगमा शिक्षा र स्वास्थ्यमा क्षेत्रमा संस्थाले सेवा गरिरहेको जानकारी दिनुभयो । “सम्मानित हुने सबै व्यक्तित्व सिन्धुपाल्चोकको दुर्गम ठाउँमा गएर रोगीको उपचार गर्नुभएको छ । स्वास्थ्यको पहुँच नभएकालाई अतुलनीय योगदान पु¥याउनुभएको छ”, उहाँले भन्नुभयो ।
