सम्पर्क

बलेफी गाउँपालिका मातृ–शिशु स्वास्थ्यप्रति सजग र सचेत छ ः उपाध्यक्ष लामा

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत “उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम“ सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट १३० आमाहरु लाभान्वित भएका छन् । यस अवसरमा मातृ–शिशुको स्वास्थ्यप्रति बलेफी सचेत र सजक रहेको उपाध्यक्ष सरु लामा तामाङ बताउनुभयो ।
८ वटा वडाहरु रहेको यस पालिकामा आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी महिला र शिशुको पोषण सुधारलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष लामाले बताउनुभयो । लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहार सहित सरसफाई किटको प्याकेट वितरण गरेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष लामा आफैं पौष्टिक र सरसफाइको सामाग्री सहित स्वास्थ्यकर्मीको टिम लिएर वडा वडाका स्वास्थ्य केन्द्रहरुमा पुग्नुभएको छ । व्यक्तिगत स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरेर अण्डा १ किरेट, चनाकेराउ १–१ केजि, घ्यु १ लिटर, ब्रस, मन्जन, नेलकटर, सेनेटरी प्याड २ पाकेट र साबुन २ वटाको दरले बच्चाका आमाहरुलाई हस्तान्तरण गरेको छ । उहाँका अनुसार “स्वस्थ आमा स्वस्थ बच्चा, सुनिश्चित भविष्य“ भन्ने धारणा सहित गाउँपालिकाको सिंगो टिम आमा र शिशुहरुको स्वास्थ्य प्रति सचेत र सजक रहेको बताउनुभयो । यतिमात्र नभई सुत्केरी दिदीबहिनीहरुको स्वास्थ्य अवस्थाको जानकारी, खानपान र सरसफाईमा ध्यान दिनको लागी सजग समेत गराएको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष सरु लामा तामाङ सहित सम्बन्धित वडाको वडाध्यक्षहरु, स्वास्थ शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको टिमले समन्वय गरेको छ । कार्यक्रम ८ वटै वडामा ३ दिन लगातार सञ्चालन भएको थियो । गाउँपालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित सुत्केरी चेकजाँच गर्ने महिलालाई डेलिभरी गराउन नसक्ने भएमा सुविधा सम्पन्न अस्पताल सम्म लान निःशुल्क एम्बुलेन्सको सुविधा समेत दिंदै आएको छ । साथै बलेफी गाउँपालिकाले प्रत्येक वर्ष छोरी सम्मान कार्यक्रम सँंगै बहुक्षेत्रीय पोषण योजना अन्तरगत विपन्न समुदायको सुनौला हजार दिनको आमाहरुलाई पोषण सुधारका लागि आय आर्जन कार्यक्रम मार्फत सुरुवाती पुँजी वितरण पनि गर्दै आएको छ ।