वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुकलाई दिगो विकासको लक्ष्यमा अघि बढाउन प्रदेश सरकार तथा सबै राजनीतिक दलबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार हेटौँडामा १७औँ गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रमा दीर्घकालीन शान्ति, राजनीतिक स्थायित्व र गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश प्रमुख शर्माले राजनीतिक नेतृत्वबाट मुलुकमा परिवर्तन भएको भन्दै अब जनतालाई भौतिक पूर्वाधार, विकास निर्माण र आर्थिक समृद्धिबाट आत्मनिर्भर बनाउने बाटोमा प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै बनेको नेपालको संविधानले सबै नेपालीका छोराछोरी राष्ट्र प्रमुख हुनसक्ने अवसर सिर्जना गरेको भन्दै यो गणतन्त्रकै उपलब्धि रहेको उल्लेख गर्नुभयो ।
