अत्यधिक गर्मी बढेसँगै अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । सिन्धुपाल्चोक जिल्लामा एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो ।त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी दिनुभयो । कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा छ ।
