भोलि (बिहीबार) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पु¥याइएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
