इन्द्रावती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले इन्द्रावती गाउँपालिकामा १२ कक्षा सम्म निःशुल्क शिक्षा हुनुपर्ने बताउनुभएको छ ।
चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती – ८ गहते को २६औँ वार्षिकोत्सव कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष गिरिले इन्द्रावतीमा कक्षा १२ सम्म निःशुल्क शिक्षा हुनुपर्ने र आफुले कार्यपालिकामा पनि त्यसको लागि जोडदार आवाज उठाएको बताउनुभयो । १२ कक्षा सम्म निःशुल्क शिक्षा हुनुपर्छ भनेर कार्यपालिकामा जोडदार आवाज उठाएको छु’, उहाँले भन्नुभयो ।
भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा दिएको उदाहरण दिँदै उनले इन्द्रावती गाउँपालिकामा पनि त्यो कुरा लागू हुनुपर्ने बताउनु भएको छ । ५/६ जना वडा अध्यक्षहरू एक भएर शैक्षिक सुधारको लागि निरन्तर आवाज उठाइरहेको उहाँले जानकारी दिनुभयो ।
आगामी आर्थीक बर्षको बजेटमा शिक्षामा आमुल परिवर्तन हुने गरि योजना ल्याउन कार्यपालिकामा कुराहरू राख्ने वडा अध्यक्ष गिरिले प्रतिवद्वता व्यक्त गर्नुभयो । आगामी आर्थीक बर्षबाट इन्द्रावतीको शैक्षिक क्षेत्रको सुधार हुनेमा उनले विश्वास ब्यक्त गर्नुभयो । ’गाउँमै रोजगारी उपलब्ध होस र कोहि पनि बाहिरिन नपरोस भन्ने हाम्रो चाहना छ’, उहाँले भन्नुभयो ।
