खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघको पहिलो सातामा नै काठमाडौँ पु¥याइने बताउनुभएको छ ।
शुक्रबार खानेपानी आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागी आउनुभएका मन्त्री यादवले माघको पहिलो सातानै पानी काठमाडौ पुग्ने दावी गर्नुभयो ।
उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले द्रुत गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।
आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको पनि पुस लाग्दासमेत पानी वितरण नभएपछि काठमाडौमा विरोध भइरहेको छ । सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि उपत्यका वासीले असन्तुष्टि जनाएका हुन् । अवलोकनमा मन्त्री यादव संगै प्रदेश सभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य बिष्णुमणि आचार्य लगायको सहभागिता रहेको थियो ।
