सम्पर्क

मध्यावधि भन्दै गाउँ छिर्दै एमाले

एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वलाई मध्यावधिका लागि तयार रहन ‘निर्देशन’ दिएको केही दिनमै एमालेले मेची–महाकाली यात्रा सुरु गरेको छ। समृद्धिका लागि संकल्प यात्रा भनिए पनि एमालेले ‘जनता र कार्यकर्तासँग’ जोडिन यो यात्रा सुरु गरेको हो।एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट समृद्धि यात्राको सुरुवात गरेका हुन्।  मध्यपहाडी लोकमार्गको पश्चिम अन्तिम बिन्दु मानिएको झुलाघाटबाट मुलुकको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष ओलीले बिहीबार संकल्प यात्राको शुभारम्भ गरेका हुन्।ओलीको नेतृत्वमा करिब तीन सातासम्म चल्ने यो यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू सहभागी छन्। यात्राको शुभारम्भ गर्दै अध्यक्ष ओलीले पहाडी क्षेत्रको विकासका लागि यहाँका जनताहरूसँग छलफल गर्ने बताए। थुप्रै सम्भावना रहेको पहाडी क्षेत्रमा समृद्धिका लागि यो अभियानको आरम्भ गरिएको ओलीले प्रष्ट्याए।‘पहाडी क्षेत्रका सम्भावनाहरू पहिल्याउँछौं। शिक्षा, स्वास्थ्य कृषिमा के–कस्ता सम्भावना छन् भनेर यहाँका नागरिकसँग छलफल गर्छाैं,’ ओलीले भने, ‘तिनको पहिचान गरेर माग सम्बोधनका लागि अघि बढ्छौं।’ यो यात्राले परिवर्तन, लोकतन्त्र, सुशासन, विकास, गणतन्त्र र सुखी नेपालीको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याउने ओलीले बताए।बिहीबार नै बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा ओलीले वर्तमान सरकारी कमिसन र तस्करीको बाटोमा हिँडिरहेको आरोप लगाए। ‘एयरपोर्ट, भन्सार, इलेक्ट्रिक सामग्रीको माध्यमबाट धमाधम नेपालमा सुन भित्रिएको छ, यो सबै तस्करीको खेल हो,’ ओलीले भने, ‘यो कमिसनतन्त्रको खेल हो। सरकारले गर्दै आएका पछिल्ला गतिविधिले नै देशको अर्थतन्त्र ओरालो लागेको हो।समृद्धिका लागि थुपै्र सम्भावना रहेको मध्यपहाडी क्षेत्र रहेकाले सबै राजनीतिक दलले यहाँको सम्भावनालाई अनुशरण गर्नुपर्ने एमालेको दाबी छ।  जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसंख्या बसोबास रहेको पहाडी क्षेत्र नै रहेकाले समृद्धिको आधार पनि मध्यपहाडी क्षेत्रबाट नै सम्भव रहेको एमालेको दाबी छ। पुस १ गते पाँचथरको चिवाभन्ज्याङमा पुगेर यो यात्रा टुंगिनेछ।संकल्प यात्राका सहभागी नेता कार्यकर्ताहरूले यो यात्राबाट नयाँ अभ्यासको थालनी भएको बताएका छन्। पहाडी क्षेत्रको स्रोत साधनलाई मात्रै उपयोग गर्नसके समृद्धिको नयाँ यात्रा तय हुने बैतडीका सांसद  एवं एमाले प्रदेशका अध्यक्ष दामोदर भण्डारीले बताए। बैतडी जिल्लालाई नै उदाहरणका रूपमा लिन सकिने उल्लेख गर्दै भण्डारीले भने, ‘यहाँ फस्फोराइड खानी छ। फलाम खानी छ। जडीबुटीको प्रचुर सम्भावना छ। यी स्रोतसाधनलाई पनि उपयोग गर्न सके समृद्धि हासिल गर्न सकिन्छ,।’एमाले सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले एमालेको संकल्प यात्राले देशको राजनीतिमा नयाँ तरंग पैदा गर्ने बताए। पहाडमा समृद्धिको प्रचुर सम्भावना रहेको बताउँदै उनले बसाइँसराइ नियन्त्रणमा पनि यो यात्राले जागरण पैदा गर्ने बताए।  ‘पार्टीलाई जनतासँग जोड्ने यात्रा छँदै छ, यो यात्राबाट जनताको भावना र मनोविज्ञान बुझ्न सकिन्छ, पहाडी क्षेत्रको विकासमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा नीति निर्माण गर्न पनि मद्दत पुग्छ,’ भट्टले भने।थुप्रै सम्भावनाको खानीका रूपमा रहेको मध्यपहाडी क्षेत्रका नागरिकसँगै एकैसाथ जोडिने र यहाँको सम्भावनालाई पहिल्याएर अघि बढ्ने एमाले सचिव योगेश भट्टराईले बताए। ‘पहाडीको जनजिवनको बारेमा बुझ्ने छौं, सबै पेसा, वर्ग र समुदायका मानिसहरूसँग भेट्ने छौं,  उनीहरूको सुझाव संकलन गर्दै आगामी यात्रा तय गर्ने छौं’, भट्टराईले भने। अन्नपुर्णपोष्ट दैनिक