अमेरिकाको अध्यागमन हिरासतमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु भएको छ ।
अबैध बाटोबाट अमेरिका छिरेका सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका–६ का ३४ बर्षीय सुवास श्रेष्ठको टेक्सासस्थित र्कोस सिटी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा नोभेम्बर १३ (सोमबार) मृत्यु भएको अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसीईले पुष्टि गरेको छ ।
मृतक श्रेष्ठको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उहाँ घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उहाँ काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।
गत सेप्टेम्बर २ मा उहाँ मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उहाँलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताउनुभयो ।