कुमार बस्नेत (अधिराज)
आगामी मंसिर १९ र २० गते सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको तेस्रो सिन्धु आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
जिल्ला तेक्वान्दो संघका पदाधिकारीहरूको बैठक बसी प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
देशभरीबाट उत्कृष्ट महिला पुरुष सहभागी खेलाडीहरुको सहभागीता रहने प्रतियोगितामा ७ प्रदेशबाट ७ टिम – बिभागिय ३ टिम (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र आयोजक सिन्धुपाल्चोक गरि जम्मा ११ टिमको सहभागी रहने प्रतियोगिता संयोजक तथा पुर्ब जिल्ला तेक्वान्दो संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो ।
फाइट kyorogi तथा पुम्से poomsae तर्फ गरि जम्मा २७० जना खेलाडी र ३० जना अफिसियल गरि ३०० जना भन्दा बढी तेक्वान्दो कर्मिहरुको उपस्थित रहने कुरा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीले बताउनु भयो ।
खेलकुदको माध्यमबाट समाज परिबर्तन गरि स्वच्छ नागरिक उत्पादन र स्वास्थ्य रहनको लागि पनि सबैले खेलकुद खेल्नु पर्छ र सिन्धुपाल्चोक जिल्लामा खेलाडीहरुलाई खेल खेल्ने वातावरण बनाएर देशको नाम राख्न थप हौसला होस् भनेर यो प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र दिइने जानकारी गराइयो भने प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला पुरुषले पनि नगदसहित शिल्ड पाउनेछन् । प्रतियोगितामा खेलाडी तथा अफिसियलहरुलाई खाना तथा बसोबासको ब्यबस्था आयोजकले ब्यवस्थापन गर्ने कार्यक्रम संयोजक बुद्धराज बस्नेतले जानकारी गराउनु भयो ।
कार्यक्रमको आयोजक तेक्वान्दो जिल्ला कार्यसमिति सिन्धुपाल्चोक रहनेछ । भने सह–आयोजक बाह्रबिसे नगरपालिका रहने भण्डारीले जानकारी दिनुभयो ।
