काठमाडौं
काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले बसपार्कमा निर्माण गरेको संरचनालगायत अन्य भौतिक संरचना भत्काउने निर्णय गरेपछि पूर्वअरनिको यातायात अदालत पुगेको थियो । असोज १२ गते अल्पकालीन अन्तरिम आदेशमात्रै दिएकोमा ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज भने बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।
अदालको अन्तरिम आदेशमा यस्तो भनिएको छ ।
‘यसमा निवेदकले निर्माण गरेका संरचना नबिगार्नु, नभत्काउनु भन्ने निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने निवेदन माग भई प्रस्तुत निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म जग्गामा निवेदकहरूले निर्माण गरेका संरचनाहरू तोडफोड गर्ने, भत्काउने कार्य नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग गरेको देखियो । निवेदकहरूले निर्माण गरेको संरचनाहरू भत्काएमा प्रस्तुत निवेदनको मागदावी निष्प्रयोजन हुने भई सुविधाको सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको टुंगो नलागेसम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम निजी जग्गामा निर्माण गरिएका संरचनाहरू नभत्काउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ आदेशमा उल्लेख छ ।
