सम्पर्क

बाह्रखरी डिश होम कथा प्रतियोगिता ः नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य

काठमाडौं ।
 पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । उहाँले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताउनुभयो । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिनुभयो ।
“यो प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,” बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उहाँले भन्नुभयो, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”
बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने उनको धारणा छ । सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको उनले स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने उहाँले बताउनुभयो ।
कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उहाँको भनाइ छ । “म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,” उहाँले भन्नुभयो, “आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।”
निर्णायक मण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । “बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,” कथाकार भट्टराईले भने, “हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो ।”
उहाँले विचार र भाषालाई सन्तुलित गरेका कथा नै बलियो हुने धारणा राखे । “विचार र भाषा सन्तुलित भएका कथा नै वास्तवमा सशक्त हुन्छन्,” उहाँले भन्नुभयो, “प्रतियोगितामा यहीभित्र रहेर कथा पठाउन म आग्रह पनि गर्छु ।”
डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाली माटोका मौलिक कथा आवश्यक रहेको बताउँनुभयो । कथा लेखनमा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । उहाँले समाज रूपान्तरण गर्न सक्ने कथा आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । “कथा लेख्ने पालो अब युवा पुस्ताको हो । टेलिभिजनले उठाउन नसकेका विषय कथाले समेट्नुपर्छ भन्ने लाग्छ,” उहाँले थप्नुभयो । फाइन प्रिन्टका सञ्चालक निरज भारीले कर्पोरेट हाउसलाई साथमा लिएर कथा प्रतियोगिता गर्नु नै नेपाली साहित्यमा नयाँ सोच भएको टिप्पणी गर्नुभयो । बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँ पुस्ताका लागि सम्भावनाको ढोका उघार्ने माध्यम भएको उहाँले बताउनुभयो । यसलाई नयाँ पुस्ताले अवसरका रूपमा लिन सक्नुपर्ने उहाँको धारणा छ । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँका लागि मात्र नभएर अग्रज पुस्ताका लागि पनि भएको बताउनुभयो । “यो प्रतियोगिता नयाँ प्रतिभाका लागि मात्रै हो कि भन्ने भ्रम रहेको छ, तर त्यस्तो होइन । सबैका लागि हो,” उहाँले स्पष्ट पार्नुभयो । हरेक वर्ष नयाँ प्रयास गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि आमन्त्रित साहित्यकारको कथा समावेश गरिएको जानकारी दिनुभयो । साहित्यको कथा विधालाई अगाडि बढाउने बाह्रखरीको प्रयासमा सहयोग गर्ने प्रायोजकलाई धन्यवाद दिँदै उनले सहकार्यको निरन्तरताको पनि अपेक्षा व्यक्त गर्नुभयो । “कमजोर अर्थतन्त्रका बाबजुद पनि सहयोग गर्नेलाई धन्यवाद । अहिलेको अवस्थामा प्रायोजकलाई पनि सहज छैन । तर, यो अप्ठ्यारो अवस्थामा पनि सहयोग गर्ने प्रायोजक र हाम्रो प्रतियोगितामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु,” प्रधानसम्पादक प्रधानले भन्नुभयो । बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले नयाँ स्रस्टा जन्माउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले संसारभरका नेपालीभाषी कथाकारलाई प्रतियोगिताले समेट्ने भन्दै सहभागी हुन आह्वान गर्नुभयो । बाह्रखरी कथा लेखन प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा भूगोल र उमेरको छेकबार नरहेको बताउनुभयो । जुनसुकै देश र उमेरका कथाकारले सहभागिता जनाउन सक्ने उहाँले जानकारी दिनुभयो । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न जाति, समुदाय, लिंग र भूगोललाई प्रतिनिधित्व गर्ने कथा प्राप्त हुने विश्वास उनले व्यक्त गर्नुभयो ।