सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा अपाङ्गताको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । बुधबार मेलम्चीमा अन्तरक्रियात्मक कार्यक्रम गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।
मेलम्ची नगरपालिकासँगको समन्वयमा टुकी संघ सुनकोशी र ह्यान्डिक्याप इन्टरनेसनल फेडरेसन नेपालबिचको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुने टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो ।
ह्यान्डिक्याप इन्टरनेसनलका परियोजना संयोजक महेन्द्रविक्रम शाहले चार वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममार्फत मेलम्ची अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गरिनुका साथै अपाङ्गता भएकाहरुको वृत्तिविकासको कार्यक्रम गरिने जानकारी दिनुभयो ।
उपयुक्त किसिमको जीविकोपार्जन कार्यक्रम सञ्चालन गरी परियोजना अवधि सकिएपछि स्थानीय तहलाई सो कार्यक्रम हस्तान्तरण गरिने परियोजना संयोजक शाहले बताउनुभयो ।
मेलम्ची नगर उपप्रमुख उमा प्रधानले अपाङ्गताको क्षेत्रमा मेलम्ची नगरले चाहेजस्तो कार्यक्रम गर्न नसकिरहेको सन्दर्भमा यस परियोजनासँगको सहकार्यमा उल्लेख्य काम गर्न सकिनेमा आशावादी रहेको बताउनुभयो । सक्ने सिपमूलक कार्यक्रम सञ्चालन गरी अपाङ्गता भएकाहरुलाई परिवार तथा समाजमा सम्मानको अवस्था सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले यस परियोजनाबाट अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तरमा परिवर्तन आई पारिवारिक र सामाजिक रुपमा सम्मानित जीवनका लागि सहयोग पुग्नेमा अपेक्षित रहेको बताउनुभयो ।
परियोजना दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि स्थानीय तहमा हस्तान्तरण गरिने प्रावधानअनुसार यसका केही कानुनी जटिलता रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा मान्यता नदिएको साथै दरबन्दी स्वीकृत नभएका कारण नीतिगत समस्या रहेको उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत धितालले मेलम्ची नगरपालिकाबाटै फिजियोथेरापिस्ट उत्पादनका लागि संस्थालाई अनुरोध पनि गर्नुभयो ।
परियोजनाबारे जानकारी दिने कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले फिजियोथेरापी सेवा मेलम्चीमा अति आवश्यक भएका बेला स्थापना हुने जानकारीले खुसी लागेको बताउनुभयो । नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले यस प्रकारको कार्यक्रमले अपाङ्गता भएकाहरुको जीवनस्तरमा सुधार आउनेमा आशावादी रहेको बताउनुभयो । मेलम्ची नपा, वडा नं. १ का वडाध्यक्ष कृष्णमुरारी चौलागाईं, मेलम्ची अस्पताल प्रमुख डा. श्रीराम अर्याल, गैरसरकारी संस्था महासंघ, सिन्धुपाल्चोकका उपाध्यक्ष भवानी श्रेष्ठले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
