सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ ।
त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् । घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ ।
