सम्पर्क

सुनकोशीमा कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकता

सुनकोसी
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि ५३ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पेश गरेको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको थियो । बजेट पारित भएसँगै गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ । गाउँपालिकाले वडा कार्यालयहरुसँग समपूरकमा योजना कार्यान्वयन गर्ने उद्देश्यले प्रत्येक वडालाई एउटा योजनामा १० लाख बजेट व्यवस्था गरिएको छ । वडाले एउटा योजना छनोट गरेर त्यसमा १० लाख रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाले पनि म्याचिङ फण्डका रुपमा सोही बराबरको रकम थपिदिने नीति गाउँपालिकाले सुरु गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
त्यस्तै पालिकाले बजेटमा कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका उपाअध्यक्ष कान्छि लामाले जानकारी दिनुभयो । सुनकोसी बासीलाई गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि र पशु क्षेत्रलाई विशेष जोड दिएको पशुपालनमा कृषकहरुलाई आकर्षित गर्न अनुदानको व्यवस्था गर्ने योजना बनाएको उपाध्यक्ष लामाले बताउनु भयो ।

सुनकोशीले चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट सबै वडा का उत्कृष्ट उपभोक्ता समितिहरुलाई पुरस्कार र सम्मान गरेको छ । गाउँपालिकामा चालू आर्थिक वर्षमा ३१९ वटा योजना सञ्चालन भएका थिए । तीमध्ये गाउँपालिकाले तोकेको परिधमा रहेर काम गर्ने समितिलाई पुरस्कार र सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताउनु भयो ।