सम्पर्क

मेलम्ची बेलीबृजको उदघाटन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको उदघाटन गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त उद्घाटन गर्नुभएको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो ।
मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताउनुभयो । प्राकृतिक विपत्तिका बेला सधै नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानिय बासिन्दाका अन्य समस्याभन्दा बेलीबृज सबै भन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना सधै नेपाली जनताको सुख दुखमा साथ दिदै आइरहेको बताउँदै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताउनुभयो ।
प्रधान सेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पति भएको बताउदै सेनाले सधै जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिनुभयो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताउनुभयो ।