सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट जारी प्रतियोगितामा पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडीले जित हात पारेका छन् । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो ।
त्यस्तै महिला सिङ्गलतर्फ चौताराकी प्रजिना बस्नेतलाई हराउँदै बाह्रबिसेकी टासी डोल्मा शेर्पा प्रथम हुनुभयो भने पुरुष भेट्रानतर्फ भने खाडीचौरका साजन न्यौपाने र राकेश थापाको जोडीले जित हात पारेका छन् । विजयी खेलाडीलाई पुरस्कार, मेडल, ट्रफी वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साहलाई जिवन्त राख्दै जिल्लास्तरमा मात्र हैन राष्ट्रियस्तरका खेलाडी बनाउनका लागि नगरपालिकाले यथासक्य सहयोग र समन्वय गर्ने प्रतियोगिता व्यक्त गर्नुभयो । प्रतियोगितामा जिल्लाभरका ५४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
