सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ११ ले जंगली जनावरबाट बालीनाली जोगाउन तारबार लगाउन सुरु गरेको छ ।
वडाभित्र पर्ने जंगल छेउका बस्तीहरुमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले दुःख दिनथालेपछि वडाले बस्ती तथा खेतबारीको छेउमा तारबार लगाउन थालेको हो । यस क्षेत्रमा वर्षौदेखि जंगली जनावरले दुःख दिँदै आएको छ । जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान विष्णु पराजुलीले बताउनुभयो । ‘जंगलको छेउमा खेत छ,’ उहाँले भन्नुभयो, ‘जे लगाए पनि जंगली जनावरलाई ठिक्क, बाली त उठाउनै पाइँदैन ।’
किसानको बाध्यता बुझेपछि वडाले यो बर्ष परिक्षणका रुपमा तारबार सुरु गरेको अध्यक्ष रोशन गिरीले बताउनुभयो । उहाँका अनुसार वडाले नगरपालिकासँगको समन्वयमा ७ लाख रुपैंया खर्चिएर चार टन जे आई र काँडेतार किनेर तारबार गरिएको हो ।
यस वर्ष लगाइएको छेकबारको कामले जंगली जनावर खेतबारीमा आउन रोकिए अर्को वर्षपनि यसलाई निरन्तरता दिने वडाध्यक्ष गिरीले बताउनुभयो । कतिपय बस्तीहरुमा तारबारको काम सम्पन्न भएपनि विशेषगरि जंगलसँग जोडिएका बस्तीहरु बढी पीडित भएकाले वडाका डुम्रे, गैराथोक, पोखरे, कटुन्जेपानी, पौवाथोक, बिर्ताथोकमा यो कार्य थालनी गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
