सम्पर्क

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटोको सांसद सापकोटाद्वारा उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको  बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । मंगलबार क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले उद्घाटन गर्नुभएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर तिमल्सिनाले बताउनुभयो । उक्त भीरबाट दैनिक दर्जनौं स्थानीय आउजाउ गर्दा ज्यानकै जोखिम हुदैंआएको थियो तर रेलिङसहितको बाटो निर्माण भएपछि सुरक्षित र ढुक्कसँग आउजाउमा सहजता मिलेको उहाँले खुशी ब्यक्त गर्नुभयो ।
मान्छे हिड्न नसक्ने टोप्का भीरमा बाटो बनेपछि दुई पाङग्रे सवारी साधन समेत आउजाउ गर्न सक्ने भएको छ । बाटो निर्माणले गाँउलेलाई राहत मिलेको स्थानीय जयराम तिमल्सिनाले बताउनुभयो ।
टोप्काबाट बसेरी आउन भीरको सानो बाटो हिड्नुपर्ने थियो । बषौंअघि सो भीरबाट लडेर यात्रु मर्ने र अङ्गभङ्ग हुनुपरेको स्थानीय तिमल्सिनाले दुखेसो पोख्नुभयो । अब रेलिङसहितको चौडा बाटो बनेपछि स्थानीय सुरक्षित र ढुक्कले आउजाउ गरिरहेको उहाँले खुशी ब्यक्त गर्नुभयो । सो बाटो हुँदै टोप्काका बिद्यार्थी बसेरीमा रहेको कालीदेवी आधारभूत बिद्यालयमा अध्ययन गर्न आउजाउ गर्नेगरेका छन् । बाटो बनेपछि सबैभन्दा बढी बिद्यार्थीलाई लाभ पुगेको छ ।