अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोक आयोजक कमिटीले विद्यार्थी, जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्गलाई सवारी भाडामा सहुलियत दिन माग गरेको छ । आईतबार कमिटीको संयोजक शितल मोक्तानको नेतृत्वमा जिल्ला कमिटी सदस्य कृष्ण न्यौपाने, चौतारा बहुमुखी क्याम्पसको स्ववियु सचिव सुशिल तामाङ लगायतको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापन पत्र बुझाउँदै यसअघि नै व्यवस्था रहेकोे भाडामा सहुलियतको कुरालाई कार्यान्वयन गराउन माग गरेको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई निश्चित प्रतिशत सहुलियतको व्यवस्था रहे पनि सिन्धुपाल्चोक अन्तर्गत चल्ने यातायातमा सो कुरा कार्यान्वयन नभएको अनेरास्ववियुले जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘सरकारले त्योकेको मापदण्ड अनुसार (प्राइवेट) बोर्डिङ स्कूलहरूमा कानूनी रूपमा उल्लेखित गरेको स्कुलको विद्यार्थीलाई दस प्रतिशत र विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिन अनिवार्य सरकारले नीति बनाएको छ तर सिन्धुपाल्चोक जिल्लामा संचालनमा रहेको विभिन्न (प्राइभेट) बोर्डिङ स्कूलहरुले उक्त नीतिको कार्यान्वयन नगरेको र भौतिक पुर्वधार मापदण्ड अनुरुप नभएको, दक्ष शिक्षकहरुको कमि शिक्षकहरुको श्रम शोषण हुने गरि पारिश्रमिक दिएको र बिद्यार्थीमा मनलागी फि असुल गरेको बिद्यार्थी अभिभावकहरुले उक्त कुरा उठाउँदा उल्टै धम्क्याउने गरेको जनगुनासो र विशेष गरी विद्यार्थीको गुनासो व्यापक रूपमा आउन थालेको हुँदा सरकारले सहुलियतको व्यवस्था गरे बमोजिम सोही अनुसार कडाइपूर्वक कार्यान्वयन गराउन र समयसमयमा सो को अनुगमन गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’
उक्त मागहरुलाई कार्यान्वयन गराउन अपिल गर्दै अनेरास्ववियुले माग पूरा नभए कडा संघर्षका कार्यक्रम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
