सम्पर्क

हेल्प संस्थाद्धारा शैक्षिक सामग्री वितरण

पृथ्वीजंग पाण्डे / पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न विद्यालयमा हेल्प संस्थाद्धारा शैक्षिक सामग्री वितरण गरेको छ । बिहिवार वडा नं. १ घोर्थलीको सेतिदेवी आधारभुत विद्यालय टुङ्गाथलीका ७५ जना विद्यार्थी र वडा न २को गणेश आधारभुत विद्यालय लाटुका ७५ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा नं. १ का वडा अध्यक्ष सिताराम थापा ,नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरीका सचिव लालबहादुर श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीयको उल्लेखनीय उपस्थित रहेको थियो।हेल्पका डाइरेक्टर जिमि लामा सहितको उपस्थितिमा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको थियो । हेल्पका अध्यक्ष जिमि लामाको अनुसार त्रिपुरासुन्दरी गाउँपालिका र हेल्प संस्थाको साझेदारीमा संचालन हुँदै आएको साथी शिक्षक कार्यक्रम एक वर्ष प्रवेश गरेको अवसरमा चोकटीको लाटुमा अवस्थित गणेश आधारभूत विद्यालय र घोर्थलीको टुंगाथलीमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा विविध पक्षको अवलोकन समेत गरिएको थियो । गत वर्ष मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका र हेल्पको संयुक्त प्रयासमा पालिकाको २० वटा विद्यालयको आधारभूत तहको सर्वेक्षण गर्दा करिब ९५ प्रतिशत बढी विद्यार्थीहरुले अंग्रेजीमा वाक्य पढ्न वा हिसाबमा सामान्य भाग हल गर्न कठिनाइ भएको पृष्ठभूमि थियो । साथी शिक्षक कार्यक्रम मार्फत आधारभूत तहमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न यो कार्यक्रम संचालनमा ल्याएको हो । हाल त्रिपुराको ५ वटा विद्यालयमा १० जना साथी शिक्षक रहेका छन् । साथी शिक्षकहरुको प्रयास र गाउँपालिकाको लगानीले शिक्षण सिकाईमा गुणात्मक सुधार हुँदै आएको त्यहाँका स्थानीय र अभिभावकहरुले बताएका छन। अवलोकन गर्दा हेर्न देख्न सकिने अवस्था समेत भएको छ । यसै सन्दर्भमा, थप सहयोगको लागि साथी शिक्षक र विद्यालयको अनुरोधमा, हेल्पले यी दुई विद्यालयमा अध्य्यनरत १५० विद्यार्थीहरूका लागि स्कूल ब्याग तथा स्टेशनरीको व्यवस्था गरेको थियो । शैक्षिक सामग्री पाउने असी प्रतिशत विद्यार्थीहरु सीमान्तकृत थामी समुदायका छन् । गाउँपालिकाको योजना अनुरुप आधारभूत विद्यालयहरुको सिकाइ उपलब्धि वृद्धि गर्न गाउँपालिका र हेल्प प्रतिबद्ध रहेको जनाइएको थियो । समग्रमा, प्राथमिक तहको आवश्यकता दोश्रो दर्जामा राखिनु हुन्न भन्ने अभिप्रयका साथ विद्यालयहरुको अवलोकन र अन्तरक्रिया समेत गरिएको थियो।साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीमा लोकप्रिय बनिरहेको छ । साथी शिक्षक कार्यक्रम पछि विद्यार्थी भर्नादर र सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार हुँदै गएको छ । संस्थाले नै तलबभत्ता व्योहर्ने गरि सेतिदेवी आबि घोर्थली,गणेश आवि चोकटी,लालिगुरास आवि धुस्कुन,मंगलामाई माबी पिस्कर र कालिकामाबी टेकानपुरमा दुई जनाको दरमा दशजना साथी शिक्षकहरु कार्यरत रहेका छन् ।