एक महिनादेखि पहिरोले रोकिएको तातोपानी–कोदारी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक खुल्नेबित्तिकै चीनसँगको प्रमुख व्यापारिक प्रवेशद्वार तातोपानी नाकाबाट सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन् ।
भोटेकोशी गाउँपालिका–२ इकोसहित चार स्थानमा पहिरो पन्छाएपछि सडक आवागमन सुचारु भएको हो। यसअघि अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको विभिन्न भागमा करिब ५०० मिटर सडक भासिएको थियो। इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार महिना दिनभन्दा बढी रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म नेपाल भित्रिएका छन् । दसैँलाई लक्षित गर्दै विभिन्न सामान ल्याइएको र आज पनि लोडिङको काम भइरहेको जानकारी उहाँले दिनुभयो ।
सडकको अवस्था निरीक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीललगायतको टोली सोमबार स्थलमै पुग्नुभएको थियो ।
