दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा रहेका नेपाली दिदीबहिनीको साझा संस्था नेपाली महिला समाज कतारले आफ्नो १४औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । समाजले शुक्रवार मुन्ताजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक रेखा राईको प्रमुख आतिथ्यमा स्थापना दिवसको साथमा “सम्मान तथा सचेतना” कार्यक्रम २०२५ मनाएको हो ।
विधिगत रूपमा दीप प्रज्वलन, ब्यानर अनावरण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । संस्था स्थापना गर्दा आई परेका दुख, पिडा, बाधा, अवरोधहरूलाई स्मरण गर्दै स्थापना दिवसको अवसरमा केक काटेर समाजमा आबद्ध रहेका महिला दिदीबहिनीहरूले एक आपसमा खुसीयाली समेत साटेका थिए । स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष सदस्य, मानार्थ सदस्य, समाजका संरक्षक, सल्लाहकारहरू तथा सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । स्थापना कालदेखी समाजसँग जोडिएर साथ सहयोग पु¥याउँदै आएका मानार्थ सदस्य तिल विक्रम थेबे, छम बहादुर परियार, मुनाफ मियाको शुभकामना मन्तव्य रहेको थियो । 
वक्ताहरूले कतारमा रहेका नेपाली दिदी बहिनीहरूलाई समाजमा जोडन सकेमा संस्था थप सक्रिय बन्ने सक्ने सल्लाह सुझाव दिँदै आगामी दिनमा समाज थप सफलताको चुलीमा पुगेको देख्न पाईयोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । सचेतना कार्यक्रमको प्रशिक्षक अमिना खानले कार्यक्रमको बारेमा प्रस्ट पार्दै पछिल्लो समय नेपाली दिदीबहिनीहरूले कतारको नियम र कानुनलाई ठाडो उल्लङ्घन गरेको बताउनु भयो । नेपाली चेलीबेटीहरूले चालेका गलत कदमलाई रोक्न समाजले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरूसँग समन्वय गरेर तत्काल सचेतनामूलक कार्यक्रम गर्न सकेमा नेपालीहरूको हकहितका लागी थप टेवा र समाजमा सकारात्मक सन्देश पुग्ने समेत बताउनु भयो ।
घर देशमा दुधे बालकलाई छोडेर म किन प्रदेश आएको हुँ भन्ने कुरालाई चटक्क बिर्सेर यहाँ क्षणिक समयको लागी रगं रमाइलोको कारण धेरै जना डिप्रेसनको सिकार तथा विविध समस्यामा परेको खानले दाबी गर्दै कतारमा श्रम गरिरहेका दिदी बहिनीहरूलाई कुनै दुख समस्या परेमा नेपाली महिला समाजसँग सम्पर्क गर्न समेत आग्रह गर्दै समाजले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । प्रमुख अतिथि रेखा राईले आफ्नो मन्तव्य बोल्दै संस्था स्थापना गर्दाको समयलाई स्मरण गर्दै त्यो समयको दुख पिर पिडालाई १४औं स्थापना दिवसले खुसी दिएको बताउनु भयो । राईले प्रवासमा रहेका दिदीबहिनीहरूलाई एकतामा बाँध्न र हामीलाई आइपर्ने समस्याहरूको समाधान गर्नको निमित्त समाजको स्थापना गरेको बताउँदै समाजलाई सबैले जगेर्ना गर्न हामी सबैको दायित्व रहेको र स्थापना दिवसको अवसरमा समाजलाई स्थापना गर्न सहयोग पुर्याउने संस्थापकहरू तथा वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई समापन गर्दै सभापति केसीले आफ्नो कार्यकालमा संस्थापक देखि सल्लाहकार संरक्षक तथा अग्रजहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै सम्मानित हुने सबै अग्रजहरूलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभयो ।
केसीले आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्थापना दिवसलाई भव्य रूपमा सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजकी वरिष्ठ उपाध्यक्ष शुस्मा कटुवालले स्वागत मन्तव्य पेस गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव मेनुका खतिवडा भण्डारी र सचिव कविता खत्रीले मिलेर गर्नु भएको थियो ।
