निर्मल बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिका –५ को सहयोगमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकले किशोर किशोरीहरुको क्षमता अभिबृद्दि तालिम अन्तरगत १५ दिने संगीत तालिम सम्पन्न गरेको छ । उक्त तालिममा ३० जनाले सीप बिकासको लागि तालिम प्राप्त गर्नुभएको छ ।
३० जना प्रशिक्षार्थी सहभागी रहेको गितार बजाउजे तालिममा शुनिल मल्लले प्रशिक्षण प्रदान गर्नुभएको थियो । १५ दिने तालिम बैशाख ५ गतेवाट सुरु भई २१ गते शुक्रबार सम्पन्न भएको हो । तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन ज्वोति किशोर किशोरी समूह र प्रशंसा किशोर किशोरी समूहले व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडाध्यक्ष शिव श्रेष्ठले विभिन्न क्षेत्रमा सवैको क्षमताको उजागर र सीप बिकासको लागि वडाले वजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा आवश्यकतालाई हेरेर कार्यक्रम निर्माण गरि वजेट व्यवस्था गर्ने उद्घोष गर्नुभयो । सीप बिकास गर्न थप तालिमको माग भईआएमा वजेट पुनः व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिम समापन कार्यक्रममा श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय चौताराका पूर्वप्रधानाध्यापक एवं समाजसेवी ध्रुवलाल श्रेष्ठले संगीत र भाषा कुनै जाति, क्षेत्र र समुदायको नभई बिश्वब्यापी रहेको तर्क प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोककि अध्यक्ष पानमाया तामाङले मानवीय भावनाहरुको एकता संगीतले गर्ने भएकोले संगीतको प्रवर्द्धनमा सवैले जोड दिनुपर्ने बताउनुभयो ।
वडाध्यक्ष शिव श्रेष्ठले तालिममा सहभागी सवैलाई प्रमाणपत्र र प्रशिक्षक सुनिल मल्ललाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
