
मेलम्ची नगरपालिका वडा नं. ९ स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि गिरी एण्ड ब्रदर्श मल्टी कम्पनी प्रा. लि. रातमाटाले हात पारेको छ । गिरी एण्ड ब्रदर्श र श्री जनता माध्यमिक विद्यालय “क“ बिच भएको फाइनल खेलमा २÷२ सेट बराबरपछि अन्तिम खेलमा १५–१३ ले पछाडि पार्दै गिरी एण्ड ब्रदर्शले पहिलो स्थान ओगट्न सफल भएको हो ।
जनता मावि “क“ज्यामिरेले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । त्यसैगरी प्रतियोगितामा तेस्रो र सान्त्वना स्थान हासिल गर्न क्रमशः आयोजक सिन्धु योङ स्टार युथ क्लव र जनता मावि “ ख“ सफल भएका छन् । प्रतियोगितामा विजयी हुनुहुने खेलाडीहरुलाई ट्रफी, मेडल , प्रमाणपत्र तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खड्का, विशेष अतिथि पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का र गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले वितरण गर्नुभएको थियो । मेलम्ची नगरपालिका वडा नं.९ को आर्थिक सहयोगमा सिन्धु योङ स्टार युथ क्लवद्वारा प्रतियोगिता संचालन भएको हो । क्लवका अध्यक्ष सुनबहादुर घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
